जेठीसँग तीनलाख मागेर कान्छी श्रीमती


२६ भदौ, ताप्लेजुङ । वैदेशिक रोजगारीमा जाने भन्दै आफूसँग तीन लाख रुपैयाँ लिएर अर्की श्रीमती ल्याउने श्रीमानविरुद्ध एक महिलाले प्रहरीमा मुद्दा दायर गरेकी छन् । तेह्रथुमको पिप्ले गाविस बस्दै आएकी मंगलदेबी नेपालीले बिगोसहित बहुबिवाह मुद्दा हालेकी हुन् । उनले २०५४ सालमा ताप्लेजुङ फूलबारी घर भएका दिनेश दर्नालसँग मागी बिवाह गरेको बताइन् । उनीहरुका छोरा र छोरी गरी दुई सन्तान छन् ।

बिवाहपछि दर्नाल माओवादी बिद्रोहमा हिँडेका थिए । शान्ति प्रक्रियापछि गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत सामाजिक परिचालकका रुपमा कार्यरत दर्नालले ‘यहाँ कमाई भएन, विदेश जान्छु,’ भन्दै पैसा मागेको र अर्की श्रीमती ल्याएको गुनासो मंगलादेवीले गरेको कान्तिपुर दैनिकमा खबर छ ।

उनका अनुसार दिनेशले ताप्लेजुङ फूलबारी गाविसकी निर्मला सेन्दाङसँग दोस्रो विवाह गरेका हुन् । डेढ वर्षपछि मात्रै आफ्नो सौता भएको थाहा पाएको उनले बताइन् । ‘सामान्य हल्ला थियो, उसले होइन भन्यो, त्यसैमा भर परेकी थिएँ, घरमा भित्र्याउन लागेको थाहा पाएर प्रहरीमा उजुरी गर्दा प्रमाणित भयो,’ उनले भनिन् । सिंहकाली प्राथमिक विद्यालय पिप्ले तेह्रथुममा शिक्षण पेसामा रहेकी उनले छोराछोरी आफूसँगै रहेको बताइन् ।


0 comments

Write Down Your Responses