किरिया गरिएका फर्केपछि पत्नीसंग पुनर्विवाह


६ असोज, सल्यान । भल्चौर गाविस-१ का बाबुराम बिक टुप्लुक्क घर आइपुग्दा परिवारका सदस्यलाई सपना हो कि विपनाजस्तो लाग्यो । भारतको केदारनाथतिर मजदुरी गर्न गएका बाबुराम लामो समय बेखबर भए । गत असारमा बाढी पहिरो आउँदा उनी त्यतै थिए । परिवारका सदस्यले उनको धेरै खोजी गरे तर अत्तोपत्तो लागेन । अन्तमा परिवार निष्कर्षमा पुग्यो-उनी मरिसके । त्यसैले परिवारका सदस्यले दुई महिनाअघि उनको काजकिरिया गरे ।
लामो समयउ बेखबर भएको व्यक्ति मरेको ठानिएपछि हिन्दु संस्कार अनुसार आत्माको शान्तिका लागि काजकिरिया गर्ने चलन छ । यही मान्यताअनुसार उनको पनि काजकिरिया गरियो । उनकी पत्नी विधवा बनिन्, छोराछोरी टुहुरा भए, परिवारले एउटा सदस्य गुमायो । गाविस कार्यालयमा पनि मृत्यु दर्ता गरियो । तर सवैलाई आश्चर्यमा पार्दै बाबुराम शुक्रवार घर आइपुगेका छन् ।
काजकिरिया गरेर माया मारिसकेका बाबुराम घर फर्किएपछि परिवारजन र छिमेकीका आँखामा हर्षका आशु खसे । त्यसपछि उनलाई बाजागाजासहित हर्ष बढाइँ गरेर शनिबार घरमा भित्र्याइयो । यतिमात्र होइन गाउँलेले स्थानीय शिवमन्दिरमा बाबुराम र उनकी पत्नी नोखीको पुनर्विवाह गराइदिए । पतिको काजकिरियापछि रातो कपडा, सिन्दुर, चुरा, पोते लगाउन छाडेकी नोखी फेरि शौभाग्य सामग्रीले सजिएकी छिन् । अन्नपुर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।


0 comments

Write Down Your Responses