विद्यालयले निकालेपछि छात्रा बेपत्ता ! दुई दिनसम्म पनि बेखबर, खोलाको छेऊमा झोला, टाई र जुत्ता भेटियो


९ असोज, असोज । पोखरा–१ सिम्पानीमा रहेको करूणानिधि एजुकेशन फाउण्डेशनमा अध्ययनरत एक छात्रा दुई दिन देखि बेपत्ता छिन् । आईतबार साँझ साढे ५ बजे विद्यालबाट घर जान निस्केकी कक्षा १० मा अध्ययनरत छात्रा निशा गौतम बेपत्ता भएपछि उनका परिवार चिन्तामा डुबेका छन् ।

असोज ६ गते आईतबार साँझ साढे ५ बजे एउटै कक्षामा पढ्ने छात्रसँगको प्रेम सम्बन्धको बिषयलाई लिएर विद्यालयका प्रधानाध्यापक डिल्लिराम अधिकारीले तत्काल स्कुलबाट निस्कन भनेपछि उनी बाहिरिएकी थिईन् । साँझसम्म घर नपुगेपछि खोज्दैजाँदा गाईघाटको सेती किनारमा झोला, जुत्ता र टाई भेटिए पनि उनको केहि पत्तो लागेको छैन् ।

एक मात्र सन्तान छोरी बेपत्ता भएपछि उनका बाबु नविन र आमा चिन्तामा डुबेका छन् । कास्की पुरन्चौर ५ घर भएका उनीहरु हाल पोखराको बगरमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । प्रहरीले आईतबार साझँनै छात्रा बेपत्ता भएको बारे जानकारी आएको र खोजीकार्य जारी राखेको जनाएको छ । कास्की प्रहरीले हराएकी छात्राको खोजी कार्यलाई पहिलो प्रथामिकता दिएको र उनको अवस्था बारे जानकारी पाएपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ ।

एउटै कक्षाको छात्रसँगको प्रेम सम्बन्धको कारण पढाईमा ध्यान नदिएको भन्दै पटक पटक सचेत गराएको विद्यालयले उनलाई आईतबार विद्यालयबाट तत्काल निस्कन भनेपछि उनी मानसिक तनावमा परेको हुनसक्ने अनुमान गरिएको छ । कक्षा ५ देखि सो विद्यालयमा अध्ययनरत उनी ८ कक्षा सम्म पढाईमा अब्बल भएपनि छात्रसँगको प्रेम सम्बन्धकै कारण बिस्तारै पढाई बिग्रदै गएको विद्यालयको दावी छ ।

पिडित परिवारले भने छात्रसँगको प्रेम सम्बन्धको कारण देखाउदै बिद्यालयले निश्कासन गरेकाले मानसिक तनाबको कारण छात्रा बेपत्ता भएको गुनासो गरेको छ । छात्र/छात्राको कारण बिद्यालयमा बढाईको वातावरण बिग्रेको भन्दै उनको प्रेम सम्बन्ध र बढाईको बिषयमै गत जेठमा अभिभावकलाई बोलाई विद्यालयले छलफल समेत गरेको प्रधानाध्यापक डिल्लिराम अधिकारीले बताएका छन् । बिद्यालयका अनुसार सोहि बेला देखि उनलाई होस्टलमा राखेपनि आचरण नसुध्रिएको भन्दै पुन अभिभावककै जिम्मामा छोडिएको थियो । त्यति बेला पढाईको जिम्मा बिद्यालयले लिने र बाहिरी सुरक्षाको जिम्मा अभिभावकले लिने सहमति पछि उनी घरबाटै बिद्यालय आउने जाने गरेकी थिईन् ।

गत आईतबार साझ होस्टेल वार्डेन सालिकराम अधिकारीले उनीहरु दुवैलाई एउटा कक्षामा कुराकानी गरिरहेको देखेपछि प्रधानाध्यापक डिल्लिराम अधिकारी समक्ष लगेका थिए । अधिकारीले छात्रालाई तत्काल विद्यालयबाट निस्कन आग्रह गरेपछि उनी बाहिरिएकी थिईन् । छात्रा बेपत्ता भएपछि आफूहरुलाई पनि चिन्ता लागेको विद्यालयले जनाएको छ । उनको परिवार अहिले भाबिह्ल अवस्थामा रहेको बताईएको छ ।

विद्यालयले एकतर्फी रूपमा छात्रालाई मात्र तनाव दिईरहेकाले यो अवस्था आएको आशंका पिडितले गरेका छन् । विद्यालयबाट छात्रालाई निश्काशन गरेको एक घण्टापछि मात्र अभिभावकलाई जानकारी गराउनु विद्यालयको कमजोरीको रूपमा हेरिएको छ ।


0 comments

Write Down Your Responses