एमाओवादीको स्पष्ट बहुमत आउँछ : महरा


१४ भदौ, काठमाण्डौ । एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले मंसि ४ मा हुने संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताउनुभएको छ । एमाओवादीसँग एजेण्डा मिल्ने पार्टीहरुको दुईतिहाई बहुमत आउने उहाँको भनाई छ ।



‘अहिलेको अवस्थामा पनि हामी स्पष्ट बहुमतसहित एक नम्बर पार्टी बन्छौं । धेरै मेहनत गरे दुईतिहाई आउन सक्छ,’ रोल्पा-काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चको बैठकलाई शुक्रबार बिहान काठमाडौंमा सम्बोधन गर्दै नेता महराले भन्नुभयो, ‘एजेण्डा मिल्ने पार्टीहरूको गठबन्धन बनाउन सके एमाओवादीसँग एजेण्डा मिल्नेहरुको दुईतिहाई आउँछ ।’ संविधानभा निर्वाचनमा एमाओवादीको प्रतिस्पर्धी नेपाली कांग्रेस हुने बताउनुहुँदै उहाँले एमाले प्रतिस्पर्धी नहुने बताउनुभयो ।

महराले एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा बिहीबारसम्म आएको रिपोर्टको सार जनता आफ्नो पार्टीकै पक्षमा रहेको बताउनुभयो । ‘जनताले हामीलाई अलिकति आलोचना गरेका छन्, अलिकति गाली पनि गरेका छन् र अन्ततः माया गरेका छन्, २४० वटै क्षेत्रको निष्कर्ष यही हो,’ उहाँले भन्नुभयो ।

एमाओवादीले जित्ने निश्चित जस्तै देखेपछि कांग्रेस र एमालेले तालमेलको लागि छलफल गरिरहेको बताउँदै महराले सबै मिल्दा पनि जित्ने अवस्थामा पुगिने बताउनुभयो । ‘पार्टीप्रति आएको उभारले प्रतिक्रियावादीहरु आत्तिएका छन्,’ उहाँले भन्नुभयो, ‘माओवादीले जित्ने भयो भनेर कांग्रेस र एमाले मिल्ने प्रयास गरेका छन्, मिल्दा पनि जित्ने अवस्थामा हामी पुग्नुपर्छ ।’


0 comments

Write Down Your Responses