आयल निगमका कार्यकारी निर्देशकसहित ४ उच्च अधिकारी पक्राउ


८ असोज, काठमाडौं । लगातार घाटामा रहेको नेपाल आयाल निगमले बोनस बाँडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कार्यकारी निर्देशक अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले रहेका छन् ।



आयल निगमले २०६५ सालमा भएको नाफा बापतको बोनस हालै वितरण गरेको समाचार सार्वजनिक भएको थियो । निगमले २०६५ सालमा नाफा भएको भनिएको रकमबाट बोनस वितरण नगरी निगमको कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अख्तियारले २०६५ सालमा नै निर्देशन दिएको थियो । साथै निगम संचालक समितिले ६७/४/५ को बैठकले निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्ने निर्णय गरेको थियो ।

तर, सञ्चालक समितिको निर्णय विपरीत निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट २०६५ सालको नाफा भन्दै बोनस वितरण गरेकाले अनुसन्धानको क्रममा निगमका अधिकारीहरुलाई हिरासतमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


0 comments

Write Down Your Responses