प्रचण्ड ज्यू ! ‘भँगेरा टाउके’ भनेको के हो ?
|
२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निजी सचिवालयले आइतबार एउटा प्रेस विज्ञप्ति जारी गर्यो । तर, भारत र चीन घुमिसेकका, सी जिनपिङसँग हात मिलाइसकेका पूर्वप्रधानमन्त्रीको सचिवालयबाट जारी ‘विज्ञप्ति’को स्तरचाँहि प्रकाश दाहालको फेसबुक स्टाटसभन्दा कुनै गतिलो थिएन । नेपालका नेताहरुको सचिवालयको सांस्कृतिक स्तर कस्तो छ र उनीहरुले मिडिया एवं सुरक्षा निकायलाई सम्मान गर्न सिकेका छन् कि छैनन् भन्ने कुराको गतिलो दृष्टान्त बनेको छ लाजिम्पाटबाट जारी यो विज्ञप्ति ।

प्रशंग हो, शनिबार एकजना डीआइजीले प्रचण्डको सवारी साधन विमानको छेवैसम्म जान नदिन गरेको प्रयास । त्यसबारे आइतबार एउटा दैनिक पत्रिकामा समाचार छापिएपछि प्रचण्डको सचिवालयले वक्तव्य ने जारी गर्नुपर्ने आवश्यकता महसुस गर्यो । प्रचण्ड सचिवालयद्वारा जारी विज्ञप्तिमा डीआइजीले प्रचण्डको सवारी साधनलाई रोक्न खोजेको घटनालाई अस्वीकार गरेको छैन । तर, यसबारे वास्तविकतालाई सभ्य ढंगले जनसमक्ष राख्नुभन्दा पनि उल्टै मिडियालाई तल्लोस्तरमा गाली गर्दै यसो भनियो, ‘एउटा सामान्य कुरालाई भगेरा टाउके अक्षरमा प्रचार गर्न उक्साउने सम्बन्धित पक्षले यसबारेमा एकपटक सोच्न आग्रह गर्दछौं ।’
प्रचण्ड सचिवालको विज्ञप्तिमा सभ्य भाषामा प्रस्तुत गर्नुको साटो ‘भँगेरा टाउके अक्षरमा प्रचार गरिएको’ जस्तो अशिष्ट भाषामात्रै प्रयोग गरिएको छैन, समाचार पस्कने मिडियालाई लक्षित गर्दै थप भनिएको छ,’हामी त्यस्ता मिडियालाई पूर्वाग्रहपूर्ण समाचार प्रेषित गरी भ्रम सिर्जना नर्गन तथ्यपूर्ण समाचार दिन आग्रह गर्दछौं ।’ वक्तव्यमा प्रयोग गरिएको भाषा यस्तो छ, अध्यक्ष प्रचण्ड देशमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउन अहोरात्र खटिरहनु भएको छ । देशलाई शान्ति र प्रगतितर्फ लानको निम्ति लागिपरिरहेको देखेर केही यथास्थितिवादी, पश्चगामी र अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा बद्नाम गर्न एउटा कडीको रुपमा यस्ता समाचार आउने गरेको भन्ने प्रष्ट देखिन्छ । नत्र प्रचण्डलाई मात्र किन यस्तो आरोप लगाइन्छ ।’
एमाओवादी अध्यक्ष शुक्रबार भैरहवा जाँदा विमानकै छेउसम्म उहाँको सवारी साधन पुगेको थियो । शनिबार विहान काठमाडौं र्फकंदा विमानस्थलका सुरक्षा अधिकारीले उहाँको सवारी साधनलाई विमान छेऊसम्म जान रोक लगाउने प्रयास गरेको थियो । यस विषयमा शालीन ढंगबाट वास्तविकता जाहेर गर्नुपर्नेमा प्रचण्डको सचिवालयले उल्टै ‘मिडियालाई भभ्गेरा टाउके अक्षरमा भ्रामक समाचार पस्केको’ आरोप लगाएको छ । सचिवालयको विज्ञप्तिको भाषाशैली प्रचण्डपुत्र प्रकाशको फेसबुक स्टाटसको स्तरमा रहेको छ ।
माधव नेपाल पनि विमानस्थलसम्म गाडीमै
यसैवीच एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि आफ्नै सवारी साधनमा विमानस्थलको छेऊसम्मै जाने गर्नुभएको उहाँका निजी सहयोगीले बताउनुभएको छ । ‘आन्तरिक उडानमा पूर्वप्रधानमन्त्रीको सवारी साधन उहाँले चाहेमा विमानको छेऊसम्म लान दिइने गरेको छ ।’- पूर्वप्रधानमन्त्री नेपालको सवारी साधन पनि विमान नजिकसम्म जाने गरेको छ ।’ नेता नेपालका निजी सचिव मोहन गौतमले बताउनुभयो ।
विज्ञहरुका अनुसार भीआइपी कक्षबाट विमान चढ्ने विशिष्ट व्यक्तिहरु साझा सवारीबाट विमानसम्म जाने प्रचलन छैन । यस्तो अवस्थामा या त विमानस्थल कार्यालयको सवारीले उनीहरुलाई विमानसम्म पुर्याउँछ या सम्बन्धित विमान कम्पनीले सेवा उपलब्ध गराउँछ । कतिपय अवस्थामा उनीहरुको आफ्नै सवारी साधन पनि प्रयोग हुन्छ । ‘ भीआइपीहरु विमानस्थलमा पैदलै हिँडेर विमानसम्म जाने प्रचलन छैन ।’ स्रोतले भन्यो ।
प्रचण्डको सचिवालयले जारी गरेको प्रेस–बक्तव्य
विगत केही समययता पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड र हाम्रो पार्टीलाई कसरी हुन्छ बद्नाम गराउने उद्देश्यले विभिन्न पत्रपत्रिकामा आइरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार एक दैनिक पत्रिकामा प्रकाशित ‘दाहालको गाडीलाई विमानसम्मे पुग्ने छुट’ शीर्षक समाचार यसैको पछिल्लो कडिको रुपमा आएको छ । अध्यक्ष प्रचण्डलाई कसरी बद्नाम गर्न सकिन्छ भनी आम जनमानसमा भ्रम सिर्जना गर्न अनावश्यक कुराहरुलाई उचालेर गरिएको यस्ता कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायलाई अनुरोध गरिन्छ ।
विशेष गरी विमानस्थलको आन्तरिक उडान कक्षको भीआईपी कक्षदेखि विमानकोनजिकसम्म भीआईपीहरुलाई जानको लागि विगत समयदेखि नै पूर्वप्रधानमन्त्री रगृहमन्त्रीसम्मका व्यक्तीहरुले आफ्नो निजी सवारीमार्फत् नै विमानस्थलको ‘फलो मी’को स्कटिङमा जाने गरेको कुरा सर्बविदितनै छ । यो विगतदेखि नै भइरहेको कुरालाई अनावश्यक रुपमा अध्यक्ष प्रचण्डले मात्र त्यसो गरेको भनी कुप्रचार गर्न खोजिएको छ । हामी त्यस्ता मिडियालाई पूर्वाग्रहपूर्ण समाचार प्रेषित गरी भ्रम सिर्जना नर्गन तथ्यपूर्ण समाचार दिन आग्रह गर्दछौं । अध्यक्ष प्रचण्ड मात्र होइन सबै पूर्वप्रधानमन्त्रीहरु आफ्नै सवारीमा विमास्थलकै स्कटिङमा जहाज नजिकसम्म जाने गरेका छन् र फर्कदा पनि त्यसरी नै स्कटिङमा फर्कने गरेका छन् । अध्यक्ष प्रचण्डले मात्र लिएको यो सुविधा भनीअत्यन्त एकाग्र, पूर्वाग्रही बनी समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ । विगतदेखि चलिआएको प्रचलन र व्यवहारिकतालाई ख्यालै नगरी पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई विना जानकारी र सुचना विना रोक्न खोज्ने र यसलाई अनावश्यक प्रचारबाजी गरी आफू चर्चामा आउन खोज्ने व्यक्ति निकायले समेत यसमा ध्यान दिन जरुरी छ ।
अध्यक्ष प्रचण्ड देशमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउन अहोरात्र खटिरहनु भएको छ । देशलाई शान्ति र प्रगतितर्फ लानको निम्ति लागिपरिरहेको देखेर केही यथास्थितिवादी, पश्चगामी र अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा बद्नाम गर्न एउटा कडीको रुपमा यस्ता समाचार आउने गरेको भन्ने प्रष्ट देखिन्छ । नत्र प्रचण्डलाई मात्र किन यस्तो आरोप लगाइन्छ । एउटा सामान्य कुरालाई भगेरा टाउके अक्षरमा प्रचार गर्न उक्साउने सम्बन्धित पक्षले यस बारेमा एकपटक सोच्न आग्रह गर्दछौं ।onlinekhabar
भाद्र २, २०७० ।
प्रचण्डको नीजि सचिवालय
|
0 comments
Write Down Your Responses