प्रत्यक्ष चुनाव लड्छु, जहाँबाट उठेपनि जित्छुः प्रचण्डपुत्री रेणु दाहाल


संचार माध्यममा त्यती धेरै चर्चामा नआएपनि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्री रेणु दाहाल पार्टीले संचालन गरेको चुनावी अभियानमा सक्रिय छिन् । विगतमा समानुपातिक तर्फबाट संविधानसभा प्रवेश गरेकी एमाओवादी नेवाः राज्य समिति सदस्य रेणु यसपटक भने चुनाव भिडेरै संविधानसभा पुग्ने सोचाईमा छन् । पार्टीले सञ्चालन गरेको जनसम्बन्ध अभियानको व्यस्तताबीच रेणुले शनिबार नेपाली हेडलाइन्सका लागि सुशील पन्तसँग कुरा गर्दै चुनावपछि प्रचण्ड राष्ट्रपति बन्नेमा आफू विश्वस्त रहेको बताइन्, राजनीतिक रूपमा सुझबुझपूर्ण अभिव्यक्ति दिएकी उनले पारिवारिक बिषयमा भने खुल्न चाहिनन्ः


निर्वाचनको तयारीमा व्यस्त हुनुहुँदो रहेछ, कस्तो छ तयारी ?

निर्वाचनको तयारी राम्रै चलिरहेको छ, निर्वाचन तयारी भन्दापनि यो पार्टी संगठनको आन्तरिक सुदृढिकरण जनसम्बन्ध बिस्तार र आन्तरिक सुदृढीकरणको बिषय हो । जनसम्बन्ध अभियानको काम घनिभूत ढंगले, तीब्र ढंगले र उत्साहपूर्ण ढंगले चलिरहेको छ ।

आगामी निर्वाचनमा माओवादीको पोजिसन कस्तो होला ?

माओवादीको पोजिसन उत्साहजनक छ, देशव्यापी रुपमा पार्टी प्रवेशको लहर चलेको छ, कार्यकर्ता उत्साही ढंगले लागेको स्थिती हो । हिजोको संविधानसभा निर्वाचनमा पनि हामीसँग स्पष्ट बहुमत नहुँदा प्रक्रियामा जान सकेनौ र जनताको हातमा संविधान उपलव्ध गराउन सकेनौ, त्यो चुनौतीलाई हामीले संविधानसभाको दोस्रो चुनावमा सम्वोधन गर्नुपर्नेछ । त्यो दायित्व र अभिभारा हाम्रो काँधमा भएको कारणले गर्दाखेरी दोस्रो संविधानसभा चुनावमा स्पष्ट दुइतिहाइ बहुमत ल्याउन सकिन्छ । हाम्रो पार्टीले नसके एजेण्डा मिल्नेहरुको दुइतिहाइ आवस्यक छ । पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधानसभाबाटै संविधान भन्ने नारामा मन अट्नेहरुको दुइतिहाइ आउन जरूरी छ ।

कांग्रेस एमालेले फेरिपनि माओवादी ठूलो दल बनेर आयो भने संविधान बन्दैन भन्छन् नि ?

माओवादी ठूलो पार्टी बनेर आयो भने संविधान उहाँहरुको पक्षमा, उहाँहरु अनुकुल नबन्न सक्ला, तर जनताले सोचे अपेक्षा गरेजस्तो बन्छ । जनपक्षीय बन्ने कि अन्य खालको हो भन्ने समस्या हो, हामी जनताको पक्षमा संविधान बन्नुपर्छ भन्ने पक्षमा छौ । उहाँहरु एउटा सिमित वर्गको पक्षमा संविधान बनाउन चाहानु हुन्छ, खासगरी ०४७ सालकै संविधानको वरिपरि रम्न चाहानु हुन्छ, समस्या त्यहाँनेर हो । माओवादीले बहुमत ल्याएर संविधान बन्ने नबन्ने भन्दापनि कस्को पक्षमा संविधान बनाउने भन्ने कुरा हो भन्ने लाग्छ ।

प्रत्यक्ष चुनाव लड्ने सोचाइ छ की फेरि समानुपातिकबाट आउने ?

फेरिपनि समानुपातिकबाट आउँदिन, किनभने नेतृत्वको परिवार भएको गर्दा, हिजो पहिलो संविधानसभामा पार्टीले मलाई समानुपातिक तर्फबाट निर्वाचित गर्यो । फेरिपनि समानुपातिक तर्फबाट उठ्दा बाहिर राम्रो म्यासेज पनि नजाने । अर्को कुरा हामी जस्तो यतिको खट्ने मान्छे जनतासँग मन जित्न सकिन्छ भन्ने आत्मबल, आत्मविश्वास भएकोले प्रत्यक्षमै लडने मेरो विचार हो ।

प्रत्यक्षमा चुनाव लड्दा जित्नु हुन्छ ?

जित्छु, (हाँस्दै) कहाँबाट लडने भन्ने त थाहा छैन । जहाँबाट लडेपनि चुनाव जित्छु । धेरै साथीहरुले धेरै खालका सुझाव दिनुभएको छ । कार्यकर्ता र नेताहरूले तपाई जत्तिको मान्छेले मुख्य शहर वा केन्द्रबाट गर्नुपर्छ । त्यसमा नि काठमाडौबाट आँट गर्नुस्, बल गर्नुस सहयोग गर्न हामी तयार छौ भनेर उत्साह भर्ने काम नेता कार्यकर्ताबाट भइरहेको छ । मैले ठ्याक्कै यहाँबाट भनेर सोचेको छैन्, पार्टीले जहाँबाट आवस्यक ठान्छ त्यसकालागि म तयार छु ।

तपाई कहाँबाट चुनाव लड्ने विचारमा हुनुन्छ ?

मैले व्यक्तिगत ढंगले सोचेको छैन्, कहाँबाट चुनाव लडने भनेर । पार्टीले आवस्यकता ठान्र्यो भने जुनसुकै ठाउँमा दियो भनेपनि त्यसको लागि तयार छु । प्रत्यक्षमै चुनाव लड्छु, समानुपातिकबाट जादिन ।

विगतमा तपाईले अपेक्षित भूमिका खेल्न सक्नुभएन भन्ने टिप्पणी सुनिन्छन् नि ?

विगत संविधानसभामा मेरो जुन किसिमको हैसयत र जिम्मेवारी थियो त्यो मैले पुरा गरेकी थिए । मेरो आफ्नै व्यक्तिगत हैसियत दायित्व, जिम्मेवारी र कर्तव्य त्यसमै मात्र रहेहोला सायद । हुनसक्छ आमअपेक्षा अनुरुप गर्न नसकेको कुरा हुन सक्छ, तर प्रचण्डको छोरी भएको भनेर मैले नगरेको भन्ने सत्य होइन ।

तपाई रेणु दाहाल भनेर चिनिन चाहानु हुन्छ कि प्रचण्डपुत्री भनेर ?

म प्रचण्ड पुत्री भनेर कतिपनि चिनिन चाहँदिन । हो एक खालको समबन्ध छ, त्यो नाता सम्बन्ध तोडन सक्ने कुरापनि भएन । पक्कैपनि म प्रचण्डकी छोरी त हो, यसलाई गर्वकै रुपमा स्वीकार्छु, गर्व नै हो मेरा लागी । तरपनि म व्यक्तिगत रूपमा रेणु दाहाल भनेरै चिनिन चाहान्छु । पार्टीको संगठनमा ग्रास रुटबाट आएको हो ।

जनतालाई संवोधन गर्ने आकर्षक नारा माओवादीसँग के बाँकी छ ?

जनतालाई सम्वोधन गर्ने कुरा तीनै राजनीतिक एजेण्डा हुन्, संविधानसभाको लागि हिजो नेपाली आमाका हजारौ छोराछोरीले शाहदत प्राप्त गर्नुभयो । खासगरी ०५७ साल यता आउँदा झन् धेरै बलिदानी भएको छ, त्यो के मा त भन्दा संविधानसभाको नारामा बलिदानी भएको छ । हाम्रो एजेण्डा पहिचान सहितको संघीयता नै हो । राज्यको अग्रगामी पुर्नसंरचनाको कुराहरू, जनतालाई पूर्ण अधिकार दिनेकुराहरू र आर्थिक समृद्धिका कुरा र सम्पन्न राष्ट्र बनाउने यीनै यीनै कुरा हुन् ।

चुनावपछि प्रचण्ड के बन्नु हुन्छ ?

कार्यकारी राष्ट्रपतिकै कुरा छ, राष्ट्रपति नै हुन्छ । प्रचण्ड राष्ट्रपति बन्नेमा म विश्वस्त छु । समकालिन राजनीतिमा राष्ट्रको नेतृत्व गर्ने हिसाबले राष्ट्रिय स्तरको नेता त उहाँ(प्रचण्ड)नै हुनुहुन्छ नि त । चाहे अन्य राजनीतिक पार्टी किन नहुन सबैले स्वीकारेको कुरा हो, गिरिजाप्रसाद कोइरालको अवसानपछि को हो त भन्दा काग्रेसले पनि एमालेले पनि सबैले स्वीकार गरेको कुरा हो र आम जनताले पनि अपेक्षा गरेको कुरा हो । त्यसकारणले म ढुक्क छु, उहाँ राष्ट्रपति हुनुहुन्छ ।

तर, प्रचण्डले एकदिनमै तीनपटक कुरा फेर्ने गरेको भनेर आलोचना हुने गरेको छ नि ?

एउटा गतिशिल नेतृत्व समय सापेक्ष चल्नु पर्छ, त्यो कारणले आवस्यकता अनुसार बोल्दा खेरी त्यो खालको लचकता अपनाउँदा मान्छेहरूले त्यस्तो खालको आरोप लगाउँछन् । त्यो आरोप मात्र हो, त्यो आवस्यकता अनुसार नै भएको हो जस्तो लाग्छ । प्रचण्डका कमजोरी होलान्, एउटा राष्ट्रको जिम्मेवारी लिएको नेतृत्व गरिराखेको उहाँका कतिपनि कमजोरी छैनन् भनेको होइन्, छन् होला, अलिकति उदारताको समस्या होला । छिट्टै प्रतिक्रिया दिने खालका समस्या तिनै तिनै । त्यही कारणले गर्दा बोली फेर्छ भन्ने कुरा आउँछ होला ।

एकजना कार्यकर्ताको हैसियतमा अध्यक्ष प्रचण्डलाई तपाईँको सुझाव के हुन्छ ?जनताले, राष्ट्रले प्रचण्डलाई यत्रो ठूलो अभिभारा बोकाएको छ, यत्रो जिम्मेवारी दिएको छ, विश्वास गरेको छ, अपेक्षा गरेको छ । ती अपेक्षा पूरागर्न उहाँ अझै दृढ भएर, अझ समग्र बनेर अघि बढ्न सुझाव दिन्छु ।nepaliheadlines


0 comments

Write Down Your Responses