गोप्य तस्बिर र भिडियो फेसबुक र युट्युबमा सार्बजनिक गरिदिने र परिवारका सदस्यलाई समेत पठाइदिने धम्की दिँदै लगातार ६ महिनामा लिए १२ लाख


काठमाण्डौ, भदौ २४ । फेसबुकबाट घनिष्ट सम्बन्ध गाँसिएको युवकलाई विश्वास गर्दा २५ बर्षकी एक युवतीले १२ लाख रुपैयाँ गुमाउनुपरेको छ । तीन वर्षअघि फेसबुकमार्फत ‘भर्चुअल’ प्रेममा परेका दुईबीच गोप्य तस्बीर र भिडियो आदानप्रदान भएको थियो ।



कथित प्रेमीले तिनै गोप्य तस्बिर र भिडियोलाई हतियार बनाएर युवतीलाई ‘ब्याकमेल’ गर्न थाले । ती तस्विर फेसबुक र युट्युबमा सार्बजनिक गरिदिने र परिवारका सदस्यलाई समेत पठाइदिने धम्की दिँदै लगातार ६ महिना रकम असुलिरहे । जति पैसा दिँदा पनि ब्याकमेलिङ नरोकिएपछि झन्डै एक महिनाअघि युवतीले प्रहरीमा उजुरी गरिन् । त्यतिबेलासम्म उनको १२ लाख रुपैयाँ गुमिसकेको थियो ।

त्यही उजुरी आधारमा प्रहरीले कन्द्रीय अनुसन्धान ब्युरोले २६ बर्षका कुन्दन श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको नागरिक दैनिकमा खबर छापिएको छ । उनको कम्प्युटरबाट युवतीका तस्बिर, भिडियो र स्काइप च्याटका विपरण प्रहरीले कब्जामा लिएको छ ।

श्रेष्ठलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको व्युरोका एसएसपी उत्तमबहादुर कार्कीले जनाएका छन् । अनुसन्धान अधिकारीका अनुसार मोरङका श्रेष्ठ दुवईमा काम गरेर फर्केका हुन् । -


0 comments

Write Down Your Responses