राजेश हमालको नाम कांग्रेसको सूचीमा, भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा


विजय आवाज १२ भदौ, काठमाडौं । मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा सांसद । र, यस्तै परिचय बनाउने दौडमा लागेका छन् नायक भूवन केसी ।



संविधानसभा चुनावमा उम्मेदवार बन्ने तयारीका साथ विभिन्न कलाकारहरु यतिबेला माउ पार्टीसँग लबिङ गर्न व्यस्त छन् । नायक भुवन केसी पनि संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । कलाकार केसीले काठमाण्डौको कुनै क्षेत्रबाट उम्मेदवार बनाउन पार्टीसमक्ष माग गरेका छन् ।

भुवनले भने, ‘केही दिनमै थाहा हुनेछ, काठमाण्डौबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ ।’ आफूजस्तो एउटा कलाकार संविधान सभासम्म पुगेको खण्डमा सिंगो सिने नगरीलाई पनि फाइदा पुग्ने भुवनको तर्क छ ।

सिनेमा नगरीमा लामो समय बिताएका भूवन आफ्नो ख्यातीका कारण काठमाण्डौबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताउँछन् । सिनामंगलमा स्थायी घर भएका केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग यसअघि नै भेट पनि गरिसकेका छन् । नायक केसीलाई एमाले पार्टीले काठमाण्डौबाट उम्मेदवार बनाउने बिषयलाई गहन रुपमा लिएको उनको बुझाइ छ ।

काठमाण्डौमा अघिल्लो संविधान सभाको चुनावमा हार बेहोरेका कारणले पनि एमालेले केसीजस्ता लोकपि्रय कलाकारलाई उठाउने सम्भावना रहेको बताइन्छ । यसका लागि भुवन अहिले लबिङ गरिरहेका छन् ।

राजेश हमालको नाम कांग्रेसको सूचिमा

भुवन केसी एमालेबाट चुनाव लड्ने तयारीमा लागिरहेकै समयमा नेपाली सिने क्षेत्रका चर्चित नायक राजेश हमाल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । अहिलेसम्म हमालले यो विषयमा मुख नखोले पनि सिने बजारमा यो विषय निक्कै चर्चामा छ । हमाललाई नेपाली कांग्रेसले समानुपातिक तर्फबाट संविधान सभामा ल्याउने तयारी गरेको चर्चा चलेको छ ।

नायक राजेश हमालको पार्टी प्रवेशबारे जिज्ञासा राख्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भन्नुभयो- ‘रामेश्वर खनालजस्तै विभिन्न विधामा दक्ष व्यक्तित्वलाई कांग्रेसमा ल्याउने अभियानअन्तरगत हामीले एउटा सूचि बनाएका छौं, जसमा नायक राजेश हमालको समेत नाम छ ।’


0 comments

Write Down Your Responses