तेल ट्याङ्कीमा आगलागी, २ मजदुरको मृत्यु


८ भदौ, पर्सा । बाराको नितनपुरमा अवस्थित भगवती स्टिलमा आज बिहान भएको आगलागीमा परी दुई मजदुरको मृत्यु भएको छ । भगवती स्टिलको तेल टङ्की वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा बाराको गाविस ब्रह्मपुरी निवासी कनाही साह र बारा कै छातापिपरा निवासी नरेश पाशवानको मृत्यु भएको हो



फर्निस आयल भरिएको टङ्कीको छाना वेल्डिङ गर्ने क्रममा टङ्की भित्र रहेको तेलमा आगलागी भई टङ्की पड्किँदा पाशवान र साहको आगोमा जली घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए

टङ्कीमा तेल भएको जानकारी नभएका साह र पाशवान बिहान ९ बजेबाट वेल्डिङ गर्न टङ्कीमाथि चढेको र वेल्डिङ गर्दा सोबाट झरेको आगोको झिल्काले तेलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

टङ्कीमा रहेको १२ हजार लिटर फर्निस आयलमा भएको आगो वीरगन्ज बरख गणबाट गएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले वीरगन्ज र कलैयाबाट घटनास्थलमा पुगेको बरुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

आगलागीमा परी मृत्यु भएकाको शव घटनास्थलमै रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट कत्तिको धनमाल नष्ट भएको यकिन हुन नसकिएको प्रहरीले जनाएको छ । फर्निस आयलको टङ्कीसँगै रहेको हाइटो क्लोराई एसिडको टङ्कीमा समेत आगलागी भएको प्रहरीले जनाएको छ ।

मृतक दुवैजना ठेक्कामा काम गर्ने मजदुर रहेको भगवती स्टिलले जनाएको छ । रासस


0 comments

Write Down Your Responses