प्रहरीले नै लुट्यो २५ किलो सुन
|
९ भदौ, काठमाण्डौं । काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्याई सुन लुटेका हुन् ।

थापा उनै हुन्, जसले दुई महिनाअघि काठमाडौं परिसरले बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । सुन बरामद र पक्राउमा मुख्य भूमिका निभाएका उनले चित्तबुझ्दो कमिसन नपाएपछि आफैंले पाएको सूचनाका आधारमा रेकी गर्न जाँदा लुटपाटको मनसाय बनाएको प्रहरी बताउँछ ।
तातोपानीबाट सुन आउँछु छ भन्ने सूचना पाएर साउन १४ गते उनीहरू रेकी गर्न गएका थिए । उक्त सुन तस्कर दोर्जे शेर्पाको हो । शेर्पा आफैंले गाडी चलाएर सुन लिएर आइरहेका थिए । सूचना पाएपछि थापा र माझी दुई/तीन दिनदेखि नै काभ्रेमा थिए । उनीहरूले सुन आएको पुष्टि भएपछि काठमाडौंको विशेष टोलीलाई खबर गरेर पक्राउ तथा बरामदका लागि बनेपा बोलाएका थिए । ‘काठमाडौंबाट गएका ६/७ जनालाई बनेपामा पर्खिन लगाएर उनीहरूले धुलिखेलदेखि गाडी भकुन्डेबेसीतर्फ मोडे,’ एक प्रहरी अधिकृतले भने, ‘बनेपामा बसेकाहरू पर्खिएरै बसिरहे ।’ घन्टौंसम्म पनि नआएपछि शंका लागेर उनीहरूले सोधखोज गर्दा आफ्नै टोलीका सदस्यले बेइमानी गरेको थाहा भएको थियो ।
काठमाडौंबाट गएको निरीक्षक कृष्ण चन्दसहितको टोली बनेपामा पर्खेर बसेको थियो । त्यही क्रममा काभ्रेमा निजी गाडी अपहरणमा परेको सूचना आयो । खोजतलासी गर्दा भेटिएन । एक घन्टापछि गाडी भक्तपुर र काभ्रेको नाका साँगामा भेटियो । गाडीमा सुन मालिक दोर्जे, उनको सालो र आमा थिए । साँगा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा दोर्जेले आठ जना गुन्डाले गाडी अपहरण गरेको बताए । प्रहरीले दोर्जेले बताएको हुलियाका आधारमा जाहेरी लिए पनि केही खुलेको थिएन । तर सुन बरामद गर्न गएको काठमाडौं परिसरको टोलीले गाडी अपहरणमा पर्नुलाई गम्भीरताका साथ लिँदै अनुसन्धान गर्दा प्रहरीकै संलग्नता खुल्न गएको कान्तिपुर दैनिकमा खबर छ ।
सुन लुटिएको खबर पाएपछि त्यसमा संलग्न प्रहरीबाहेक चार जना पक्राउमा परे । उनीहरूले प्रहरीकै मिलेमतोमा सुन लुटिएको बयान दिएका थिए । ‘पहिला त यिनीहरूले यस्तो गर्लान् भन्ने लागेन, गाडी नै फेला परेन भन्दै आइपुगेका थिए,’ महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक अधिकृतले भने, ‘पक्राउ परेका चार जनाले थापा, माझीको मिलेमतोमा लुटपाट गरेको बताउँदा अनौठो लाग्यो ।’
|
0 comments
Write Down Your Responses