मायाकुमारीलाई नेपाल फर्कन प्रचण्डको निर्देशन
४ असोज, काठमाडौं । एमाओवादी कोटामा कतारको राजदूत नियुक्त हुनुभएकी राजदूत मायाकुमारी शर्मालाई एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो काठमाडौंबाट टेलिफोन गरेर नेपाल फर्कन निर्देशन दिनुभएको छ ।
लामो समयदेखि विवादमा पर्दै आउनुभएकी राजदूत शर्माले राजदूतबाट फिर्ता हुँदा पार्टीलाई सजिलो हुने प्रचण्डको सुझाव छ । आफ्नै अभिव्यक्ति र व्यवहारका कारण विवादमा पर्नुभएकी राजदूत शर्माले यसअघि माफीसमेत माग्नुभएको थियो । तर, कतार सरकार र त्यहाँ रहेका नेपालीहरुले समेत उहाँलाई फिर्ता हुर्न दबाव दिँदै आएका थिए ।
शुक्रबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डले शर्मालाई फिर्ता हुँदा राम्रो हुने सल्लाह दिनुभएको प्रचण्डका निजी सहयोगी शिव खकुरेलले अनलाइन खबरलाई जानकारी दिनुभयो । स्रोतका अनुसार एमाओवादीको कोटामा राजदूत बन्नुभएकी शर्मालाई फिर्ता बोलाउन सरकारलाई समेत प्रचण्डले सहमति दिइसक्नुभएको छ ।
गैरकुटनीतिक अभिब्यक्ति दिएको भन्दै कतार सरकारले समेत उहाँलाई फिर्ता बोलाउन औपचारिक पत्र लेखेपछि एमाओवादी अध्यक्ष प्रचण्डले शर्मालाई फोन गरी फिर्ता आउन निर्देशन दिनुभएको हो । पार्टी शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले शर्मालाई फोन गर्नुभएको लाजिम्पाट स्रोतले जानकारी दियो ।
कुटनीतिक अनुभव र पृष्ठभूमि नभएकी शर्मा नियुक्तिसँगै विवादमा पर्नुभएको थियो । उहाँले एक टेलिभिजन कार्यक्रममा कतारलाई ‘खुला जेल’को रुपमा टिप्पणी गरेपछि कतार सरकारले आपत्ति जनाएको थियो । सोही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै कतारले शर्मालाई फिर्ता बोलाउन नेपाल सरकारसँग आग्रह गरेको थियो । नेपाल फिर्ता नबोलाए कतारले नै फिर्ता पठाइदिने चेतावनी दिएपछि नेपाल सरकार अप्ठेरोमा परेको थियो ।
त्यसैगरी आफ्नो आलोचना गर्ने एक नेपालीलाई पक्राउ गरी नेपाल फिर्ता पठाइदिन आग्रह गरेको भन्दै कतारमा रहेका नेपालीहरुले पनि उनको आलोचना गर्दै आएका थिए । नेपाली कामदारलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै एमनेष्टी इन्टरनेशनलले समेत विज्ञप्ति निकालेर शर्माको विरोध गरेको थियो ।
शर्मालाई सिफारिस गर्ने पार्टीले नै उनलाई राजीनामा दिएर फिर्ता आउन दिर्नेशन दिएपछि सरकारलाई सजिलो भएको छ ।
0 comments
Write Down Your Responses