कमजोर गरीबलाई सबैले हेप्छन् : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले भारतीय प्रहरी नेपाल प्रवेश गरेको प्रति फेसबुक मार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
भट्टराईले फेसबुकमा भनेका छन् ‘अर्थात् कमज़ोर र गरीबलाई सबैले हेप्छन् । यो ब्यक्तिको हकमा पनि हो, राष्ट्रको हकमा पनि हो ।’ भट्टराईले उपत्यका बाहिर रहेकाले दुई दिनका पत्रिका एक्कै दिन पढ्नु परेको भन्दै फेसबुकमा लेखेका छन् ‘हिजो असोज २ गते विहान ६ बजे नै सिन्धुली हिंडेको र रात्रि १० बजे मात्रै फर्केको हुनाले दुइ दिनका अखबार आज एकैचोटि पढियो । दुर्इवटा कुराले मनमष्तिकलाई नराम्ररी घोच्यो । एउटा, बर्दियाको एक घरमा हतियारधारी भारतीय प्रहरी जबर्जस्ती घुसेर खानतलासी गरेछ । दोश्रो, तनहुँ पुगेका जर्मन राजदूत फ्रांक माइकेले त्यहाँका जनतालाई सम्बोधन गर्दै आगामी संविधानसभाको निर्वाचनमा कस्तो पार्टीलाई भोट हाल्नुपर्छ र कस्तोलाई हाल्नुहुन्न भनेर लामो उपदेश दिएछन् ।’
भट्टराईले लेखेका छन् ‘अखबारमा नेपाली सार्वभौमसत्तामाथि यस्तो नांगो अतिक्रमणको ख़बर चुपचाप पढेर र सुनेर बस्नुपरिरहेछ । आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र ?’
भारतीय प्रहरीको नेपाल प्रवेश प्रत्ति आपत्ति जनाउदै भट्टराईले भनेका छन् ‘उन्नाइसौं शताब्दीको सुगौली सन्धी पछि नेपाली शासकवर्गले जुन राष्ट्रिय आत्मसमर्पणवादी नीति लियो र देशलाई आन्तरिक रुपमा ग़रीब र कमजोर बनायो त्यसैको दुष्परिणाम आज हामी भोगिरहेछौं ।’
लामो स्टाटस मार्फत आपत्ति जनाएका भट्टराईले अन्त्यमा भनेका छन् ‘आउनोस्, देशलाई एकताबध्द, सम्पन्न र बलियो बनाएर राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गरौं ।’
0 comments
Write Down Your Responses