६ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलको पूर्वीकिनारामा एउटा सामान्य एकतले स्कूलभित्र दिनहुँ ३२ जना केटाकेटीको कोलाहल र चिच्याहट सुनिन्छ । भक्तपुरको पेप्सीकोला नजिकै रहेको सो स्कुलमा अनलाइनखबरको टोली पुग्दा एकजना हृष्टपुष्ट तर, बोली नआउने बालकले उपद्रो मच्चाइरहेका थिए । उनी ‘म्याम’हरुलाई देख्नासाथ च्याप्प समातेर गालामा म्वाइँ खान्थे, प्लाष्टिक टोक्दै रुन्थे अनि छेउमा अरु बालबालिका देख्नासाथ मर्याकमुरुक पारेर पिटिहाल्थे ।
सिनामंगल घर भएका यी मोटा बालक भाष्कर थापा हुन् । उनी बुबाआमाका एक्ला सन्तान हुन् । तर, १२ वर्ष पुगिसक्दा पनि अहिलेसम्म बोली आएको छैन । अस्वाभाविक क्रियाकलाप गर्ने र अन्य बालबच्चालाई पिट्दै हिँड्ने यी बालक सामान्य विद्यालयमा पढ्न सक्ने अवस्था नरहेपछि अभिभावकले उनलाई वौद्धिक अपांगता भएका वालवालिकाका लागि खोलिएको विशेष स्कुलमा भर्ना गरेका हुन् । तर, आधादर्जन युवतीहरुले चलाएको यो स्कूलमा पुगेपछि भाष्करले ५ वटा कुर्सी भाँचिसकेका छन् । अहिले शिक्षिकाहरुले उनका लागि फलामको कुर्सी बनाइदिएका छन् ।
राजधानीको थली निवासी ५ वर्षीय दीक्षान्त सिंखडाको पनि प्रष्ट बोली आउँदैन । दीक्षान्तकी आमाले गर्भावस्थामा ‘छारे रोग’को औषधि खाएपछि दीक्षान्त गर्भैदेखि अपांग बनेका हुन् । गर्भावस्थामा आमाले खाएको औषधिका कारण पाँच वर्षसम्म उनले आफैं उभिन र हिँड्न सकेनन् । अझै पनि उनी राम्रोसँग खुट्टा टेकेर हिँड्ने भैसकेका छैनन् ।
अरु बच्चाहरुजस्तै दीक्षान्त सामान्यरुपमा विद्यालय जान नसक्ने भएकाले उनलाई पनि अभिभावकले भक्तपुरको पेप्सीकोलास्थित विशेष स्कुल तथा पुनःस्थापना केन्द्रमा राखेर उपचार एवं सिकाइ प्रक्रिया अगाडि बढाएका छन् । ‘यहाँ ल्याएपछि आफैं हिँड्न सक्ने भएका छन् ।’- दीक्षान्तका बुबा बच्चुराम सिंखडाले अनलाइनखबरसँग भन्नुभयो,- ‘बच्चालाई स्कुलमा म्यामहरुले यति माया गर्नुभएको छ कि यिनलाई घरभन्दा स्कूल प्यारो छ, स्कूलचाँहि घरजस्तो र घरचाहिँ स्कूलजस्तो लाग्छ । स्कुलबाट घर जान खुशी हुनुपर्ने तर, यिनी गाह्रो मान्छन् ।’
पेप्सीकोलाको विशेष स्कूल तथा पुनस्थापना केन्द्रमा भाष्कर र दीक्षान्त जस्तै सीता दाहाल पनि दिनभरि बस्छिन् । सीता १६ वर्ष पुगे पनि भर्खर एलकेजीमा पढ्दैछिन् । बौद्धिक अपाङ्गताका कारण भर्खरैमात्र उनी आफ्नो नाम र एक दुईवटा फोन नम्बर सम्झन सक्ने भएकी छन् । यसअघि उनलाई आफ्नै नामसमेत याद हुँदैनथ्यो । तर, राष्ट्रियगान भने उनी राम्रोसँग सम्झन र गाउन सक्छिन् । वौद्धिक अपाङ्गता भएका वालवालिकाले अन्य तरिकाले भन्दा संगीतबाट छिटो सिक्न सक्ने अनुभव सुनाउँछन् शिक्षिकाहरु ।
सीताजस्तै एलिशा अहिले १५ वर्ष पुगिन् । उनी यसअघि ७ कक्षामा पढ्दै थिइन् । उनलाई पढेको पटक्कै नआएर बिर्सिन थालेपछि शिक्षकहरुले पिट्न थाले । पछि थाहा भयो, उनमा पढेको बिर्सने समस्या रहेछ । अहिले एलिशा पनि सामान्य विद्यालय छाडेर विशेष स्कुलमा भर्ना भएकी छन् । विशेष स्कुलका शिक्षिकाहरु भन्छन्- ‘एलिशाको ‘आइ क्यू’ अहिले २ कक्षाका वालवालिकासरह छ, तर, उनले प्रगति गरिरहेकी छन् । अन्य वालवालिकालाई डान्स सिकाउन थालेकी छन् । गीत पनि मज्जाले गाउँछिन् ।’
त्यस्तै अर्का १६ वर्षका किशोर शास्वत यतिबेला भर्खर ३ कक्षामा पढ्दैछन् । उनको शरीरको एउटा पाटो राम्रोसँग चल्दैन । विशेष स्कुलमा उनलाई डाक्टरहरुले थेरापी गर्नुका साथै शिक्षिकाले पढाउने प्रयास पनि गरिरहेका छन् । शास्वतको बोलीमा भने खासै समस्या छैन ।
करिव आधा दर्जन युवतीहरु मिलेर चलाएको विशेष विद्यालयमा पढ्न आउँदा लक्ष्मी पराजुलीको शरीरभरि घाउमात्रै थियो । उनी बेन्चमुनिमात्रै बस्थिन् । तर, यतिबेला उनी यूकेजी पढ्न सक्ने भएकी छन् । यस्ता वालबालिकालाई राम्रो हेरचाह र माया ममता प्राप्त भयो भने उनीहरुमा सुधार आउन सक्ने प्रमाण हुन् राज काफ्ले । उनले विशेष कक्षाबाट सामान्य स्कुलमा सरेपछि युकेजीमा ९१ प्रतिशत अंक ल्याउन सफल भएका छन् । काफ्लेजस्तै १५ जना बालबालिकाहरु विशेष स्कुलबाट सामान्य विद्यालयमा सरिसकेका छन् । तीमध्ये दुई विद्यार्थी ‘टप फाइभ’मा पुग्न सफल भएका छन् ।
वौद्धिक अपांगताको भएका वालिकाहरुको व्यवहार
‘वौद्धिक अपांगता भएका वालबालिकाहरुको लक्षण एउटै हुँदैन ।’ विद्यालयकी संस्थापक सविता उप्रेती अनलाइनखबरसँगको कुराकानीमा भन्नुहुन्छ,-’यिनीहरुको व्यवहार असामान्य हुन्छ । कसैमा सामान्य सेन्स पनि हुँदैन । लडिन्छ भन्ने सेन्स हुँदैन, दिशा पिसाव आयो भने शैचालय जानुपर्छ भन्ने पनि थाहा पाउँदैनन् । कतिपयले आपसमा कुटाकुट गर्ने, सामान फाल्ने र फुटाउने गर्छन् ।’
बौद्धिक अपांगता भएका बालबालिकालाई घर परिवारबाट बढी माया र हेरचाह आवयश्क पर्ने उप्रेती बताउनुहुन्छ । ‘उनीहरुलाई सधैं व्यस्त राख्नुपर्छ । तर, घर परिवारमा सधैं त्यस्ता बच्चाहरुसँग आमा बुबा बसिरहन सक्दैनन् त्यसपछि यस्ता बच्चाहरुले आफैंलाई चिथोर्ने, सामान फाल्ने इत्यादि गर्न थाल्छन् ।’ उहाँ भन्नुहुन्छ,- ‘आफूलाई मन लागेको खान वा माग राख्नका लागि उनीहरुसँग बोली आउँदैन, परिवारले उनीहरुको भावना बुझिदिएन भने विद्रोहमार्फत् यस्ता वालबच्चाले आफ्ना इच्छा प्रकट गर्न बाध्य हुन्छन् ।’ उप्रेतीका अनुसार विश्वमा २ प्रतिशत वालवालिकामा वौद्धिक अपांगता हुने गरेको तथ्यांक छ । नेपालमा यस्ता बालवालिकाको यकिन तथ्यांक सरकारसँग छैन ।
वौद्धिक अपांगताको कारण
‘वालबालिकामा ठोस यही नै कारणले यस्तो समस्या आउँछ भन्ने हुँदैन ।’ स्वास्थ्यकर्मी अनुराधा श्रेष्ठ भन्नुहुन्छ,’गर्भावस्थामा आमालाई पोषण पुगेन भने बच्चाहरुलाई यस्तो समस्या आउन सक्छ । गर्भवती महिलाले कडा खालका औषधिहरु सेवन गर्दा पनि हुन सक्छ । बंशानुगत समस्या पनि हुन सक्छ, यही नै कारणले बौद्धिक अपांगता हुन्छ भन्ने हुँदैन ।’ असुरक्षित मातृत्व एवं सुत्केरी गराउँदा या अन्य कारणहरुले पनि यस्तो समस्या आउन सक्ने उहाँ बताउनुहुन्छ ।
गर्भवती महिलाले नियमित स्वास्थ्यजाँच गराउनु पर्ने, बच्चाको अवस्थाबारे भिडियो एक्सरे गरेर हेर्नुपर्ने र गर्भमै बच्चाको अवस्था असामान्य देखिए समय बढी नभएको अवस्थामा गर्भपतन गर्न उपयुक्त हुने उहाँको सल्लाह छ । साथै जन्मिइसकेको बच्चाको शिशुअवस्थामा विशेष ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
वौद्धिक अपांगता भएका बालबालिकालाई हेला र अपमान नगरी माया ममता गरेर स्याहार गर्न सके उनीहरु सामान्य अवस्थामा आउनसक्ने श्रेष्ठले अनलाइनखबरलाई
बताउनुभयो ।
राज्यको भूमिका सकारात्मक छैन : उप्रेती
विशेष स्कुलकी संस्थापक सविता उप्रेती आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘यस्ता वालवालिकाहरुको संरक्षण, उपचार एवं शिक्षा दीक्षामा राज्यले चासो दिएको छैन, हामीले गरेको काममा पनि सरकारी कर्मचारीहरुले हौसलाको साटो निरुत्साहित गर्ने गरेका छन् ।’
उप्रेतीले विद्यालय खोल्नेबेलाको अनुभव सुनाउँदै भन्नुभयो,-’समाज कल्याण मन्त्रालयका एक सरकारी अधिकारीले मलाई डलर खान खोज्ने भन्दै अपमान गरेपछि मैले तपाईको यस्तो व्यवहारले अर्की अनुराधा कोइराला वा पुष्पा बस्ने जन्मन सक्दैनन् भनें ।’
देशमै केही गर्न खोज्ने युवालाई सरकारी अधिकारीहरुले निराश बनाउने गरेको बताउँदै उप्रेती भन्नुहुन्छ,- ‘देशका लागि केही गर्न खोज्ने हामीजस्ता युवालाई सरकारी अधिकारीहरुले यस्तै व्यवहार गरेका कारण राम्रा मान्छेहरु विदेश पलायन भैरहेका छन् ।’
आफूले ३२ जना वालवालिकालाई अभिभावकहरुबाट शुल्क लिएर पुनस्थापनामा राखेको र राम्रो भएपछि सामान्य विद्यालयमा पठाउने गरेको उहाँले बताउनुभयो । तर, सुकुम्वासी र विपन्न समुदायका केटाकेटीलाई शुल्क नलिने गरेको र मध्यम वर्गका परिवारलाई समान्य अनि सम्पन्न परिवारबाट अलि बढी शुल्क लिएर विद्यालय सञ्चालन गरेको उहाँले बताउनुभयो । ‘राज्यले सहयोग गरे हामी यी बच्चाका पीडित अभिभावकहरुसँग शुल्क लिन इच्छुक छैनौं । हामीले लिने शुल्कले स्टाफ खर्चमात्रै धानेको छ, अरु हामीले ऋण लिएर खर्च गरिरहेका छौं ।’ उप्रेतीले भन्नुभयो ।
सरकारले काठमाडौंको जोरपार्टीमा यस्तै विद्यालय सञ्चालन गरे पनि देशभरिका वौद्धिक अपांगता भएका मानिसहरुका लागि पर्याप्त पुनस्थापना एवं अध्यययन केन्द्रहरु नभएकाले कयौं वालवालिकाहरु कहालीलाग्दो जीवन बिताउन बाध्य भइरहेको उहाँले बताउनुभयो ।
भिडियो
0 comments
Write Down Your Responses