डलरको मूल्य १ सय २ रुपैयाँ नाघ्यो
४ भदौ, काठमाडौं । अनपेक्षित रुपमा डलरको भाउ बढ्दै गएर आज मंगलबार विहान १०२ रुपैयाँ नाघेको छ । भारतमा डलरको मागमा भएको वृद्धिले सरकारी प्रयासको बाबजुद डलरको मूल्य बढेको हो । भारतमा हिजोको तुलनामा आज डलरको मूल्य ६२ पैसा बढेर एक डलरबराबर ६३.७५ भारु भएको छ । यसको नेपाली रुपान्तरण १०२ रुपैयाँ हुन्छ । हिजो ६३.१३ भारुसम्म पुगेको डलर आज विहान बजार खुल्नसाथ उच्च दरमा बढेको हो । डलरको मूल्य जनवरीदेखि आजसम्म भारत र नेपालमा १६ प्रतिशतले बढेको छ ।
मंगलवार नेपालमा किष्ट बैंकले डलरको बिक्री मूल्य १०२.६० रुपैयाँ र खरिद दर १०२ रुपैयाँ तोकेको छ । त्यस्तै नबिल बैंकले बिक्री मूल्य १०२.५५ रुपैयाँ र खरिद दर १०१.४४ रुपैयाँ तोकेका छन् । एभरेष्ट बैंकले पनि बिक्री मूल्य १०२.५५ रुपैयाँ र खरिद दर १०१.९५ रुपैयाँ तोकेको छ । बाँकी वाणिज्य बैंकले यसकै हाराहारीमा कारोबार गरिरहेका छन् ।
अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएको हुनाले अन्य मुद्रासँग डलर अधिमूल्यन भइरहेको छ । भारतको अर्थतन्त्र प्रक्षेपण गरेभन्दा कमजोर हुने संशोधित प्रक्षेपण भइरहेको छ । भारतमा आयात बढिरहेको कारण चालू खातामा चाप परिरहेको छ भने विदेशी लगानीकर्ताले लगानी फिर्ता गर्ने क्रमले पुँजी बजार सूचकहरुमा पनि गिरावट आएको छ । त्यसले गर्दा डलरको मूल्य अन्य मुद्राको तुलनामा भारुसँग अझ बढी अधिमूल्यन भइरहेको छ ।
यद्यपि विदेशी मुद्राको संचिति पर्याप्त रहेको कारण भारत सरकारले कडा उपायहरु अवलम्बन गरेको छैन । विलासी सामानको आयातमा नियन्त्रण गर्नुपर्ने सल्लाह विज्ञहरुले दिएका छन् । भारतले पूर्ण खुला बजार अर्थनीति मानेको हुनाले प्रत्यक्ष नियन्त्रण गर्न पनि मिल्दैन । सरकारले बजारको तरलता खिच्न बण्डको ब्याजदर बढाएर ९ प्रतिशत पुर्याएको छ ।
नेपालले २०५९ सालदेखि भारुसँग विनिमय दर स्थिर (१०० भारु बराबर १६० नेपाली) कायम गर्ने निर्णय गरेको कारण भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्ने गरेको छ । नेपालको व्यापारमा निर्यात आयातको अनुपात १२ प्रतिशत रहेको र ६० प्रतिशत व्यापार भारतमा सीमित रहेको कारण स्थिर विनिमय दर कायम गरिएको हो ।
नेपालले निर्यातको तुलनामा ८ गुणा बढी आयात गर्ने भएको हुनाले डलरको मूल्य वृद्धिले समग्र वस्तुको मूल्य वृद्धि हुनेछ । डलरको मूल्य वृद्धि हुँदा नेपाली निर्यात सस्तो भई विदेशमा बिक्री बढ्ने सम्भावना रहे पनि निर्यातको अंश सानो भएको हुनाले खासै प्रभाव पर्दैन ।
डलर बोकेर आउने पर्यटकलाई नेपाल घुम्न पहिलेभन्दा सस्तो भएको छ । तर, नेपालमा आएर उनीहरुले किन्ने कतिपय सामानको मूल्य बढेको कारण उनीहरुको भ्रमण महँगो पनि हुने सम्भावना रहन्छ ।
अर्कोतर्फ पर्यटकले नेपालमा गर्ने खर्चको आधार रकम सानो अर्थात वाषिर्क ४० अर्ब रुपैयाँको हाराहारी रहेको छ । पर्यटकको संख्या उल्लेख्य बढे पनि नेपाल नेपाल भित्रने डलरको वृद्धिमा न्यून मात्र सकारात्मक प्रभाव पर्दछ । जबकि नेपालले ५ खर्ब रुपैयाँभन्दा बढीको सामान आयात गर्ने गरेको छ ।
भारुसँगकोको सटही दर यथावत रहेको कारण भारतीय मुद्रामा खरिद गरिने सामान पुरानै मूल्यमा पाइने सम्भावना हुँदैन । भारतमा उत्पादन हुने सामानमा त्यहाँ डलरको मूल्यमा भएको वृद्धिले लागत बढाएको हुन्छ । धेरै कच्चा सामान भारतले पनि तेस्रो मुलुकबाट आयात गर्ने गर्दछ ।
नेपालमा विदेशी मुद्राको मुख्य स्रोत रेमिटान्स हो । वाषिर्क ४ खर्बभन्दा बढीको रेमिटान्स भित्रने गरेको छ । नेपाली मुद्रासँग विदेशी मुद्राको विनिमयदर बढेको बेला विदेशमा रहेका नेपालीले बचत गरेको रकम नेपाल पठाउने सम्भावना बढी हुन्छ । रेमिटान्सको रकम अन्ततः उपभोग्य सामानमै खर्च हुने हुँदा त्यसले पनि मूल्य वृद्धिलाई नै योगदान पुर्याउने छ ।
0 comments
Write Down Your Responses